मनाङ मस्र्याङदी शेख कमल इन्टरनेसनल क्लब कप फुटबलमा सहभागिता
- Details
- Category: Domestic News
- Published on Thursday, 16 February 2017 01:28
- Written by Nepalifootball
- Hits: 5182
घरेलु फुटबल प्रतियोगितामा खेलेको पछिल्ला सबै तीन प्रतियोगिता जितेको लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लबले बंगलादेशमा त्यही सफलता दोहोर्याउने लक्ष्य बनाएको छ । बंगलादेशको चित्तागोङमा हुने शेख कमल इन्टरनेसनल क्लब कप फुटबलमा सहभागिता जनाउन मनाङ बुधबार गएको छ ।
प्रतियोगिता शनिबारदेखि हुनेछ । एमए अजिज रंगशालामा हुने प्रतियोगितामा मनाङले आइतबार पहिलो खेल खेल्ने छ । समूह ‘बी’ मा मनाङसँगै बंगलादेशका चित्तागोङ अवहानी लिमिटेड, मोहमडन स्पोर्टिङ क्लब तथा अफगानिस्तानको शाहिन असमायी फुटबल क्लब छ । मनाङले मोहमडनसँग पहिलो खेल खेल्ने छ ।
समूह ‘ए’ मा अवहानी लिमिटेड ढाका, किर्गिस्तानको एफसी बिस्केक, माल्दिभ्सको टिसी एफसी र दक्षिण कोरियाको पोचेओन सिटिजन एफसी छन् । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन् । ‘हामी १९–२० क्षमता भएको टोलीहरूको समूहमा छौं, जसले मौकाको सदुपयोग गर्छ त्यही टिम अगाडि बढ्छ,’ मनाङका प्रशिक्षक छिरिङ लोप्साङले भने, ‘एक महिनाको अन्तरमा हामीले घरेलु फुटबलमा तीन प्रतियोगिता जितेर नमूना बन्यौंं । रोहित चन्द, विक्रम लामा र देवेन्द्र तामाङ थपिएर हाम्रो टिम अझ राम्रो भएको छ ।’
बंगलादेश जान लागेको लागेको मनाङको टोलीमा २३ खेलाडी र ८ अफिसियल छन् । अखिल नेपाल फुटबल संघका मानार्थ अध्यक्ष टासी घले, एन्फा कार्यवाहक महासचिव सञ्जिव मिश्र र मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले नेपाली टोलीलाई बिदाइ गरे । प्रशिक्षक लोप्साङले नेपाली क्लबहरूले बिरलै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अवसर पाउने गरेको र त्यस्तो अवस्थामा यो अवसर जुराइदिएकामा एन्फालाई धन्यवाद दिए ।
कप्तान अनिल गुरुङले घरेलु प्रतियोगितामा हालै देखाएको प्रदर्शनले अन्तर्राष्ट्रिय स्तरमा अझ राम्रो खेल्न प्रेरित हुने बताए । मानार्थ अध्यक्ष घलेले लिग नहुँदा पनि मनाङले खेलाडीलाई तलब
दिइरहेको र खेलाडीको मनोबल उच्च राखेको बताए ।
कान्तिपुर