गणेश थापा जिल्ला संघको निर्वाचनमा सक्रिय

भ्रष्टाचारको अभियोगमा फुटबल गतिविधिमा १० वर्ष सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेकै अवधिमा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापा जिल्ला संघको निर्वाचनमा सक्रिय रहेका छन् । उनी आफ्ना विरोधीहरूलाई जिल्लाको निर्वाचनमै सिध्याउन लबिङ गरिरहेका छन् ।

रूपन्देही जिल्ला फुटबल संघको निर्वाचन सोमबार हुँदैछ । र, यसमा वर्तमान अध्यक्ष दीर्घबहादुर केसी (कुमार) लाई नेतृत्वमा निरन्तरता दिन नहुने भन्दै थापाले संघका पदाधिकारी र क्लबका प्रतिनिधिहरूलाई निरन्तर सम्पर्क गरिरहेका छन् । एन्फामा २१ वर्ष अध्यक्ष रहँदा गणेश थापाले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै एन्फाकै पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा शुद्धीकरण अभियान चलाइएको थियो । थापाले एन्फाको ५८ करोड रुपैयाँ खर्चमा अनियमितता गरेको र एक्लौटी ढंगले संघ सञ्चालन गरेको आरोप लगाइएको थियो । स्वदेशमा उन्मुक्ति दिइए पनि थापालाई नोभेम्बर २०१५ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारको अभियोगमा १० वर्ष फुटबल गतिविधिमा सहभागी हुनबाट प्रतिबन्धलगाएको थियो ।

शुद्धीकरण अभियानमा शेर्पाको समूहलाई साथ दिएका कुमार केसीलाई रूपन्देही जिल्ला संघको नेतृत्व निरन्तर दिन नहुने भन्दै गणेश थापाले जिल्ला संघका पदाधिकारी तथा क्लबका प्रतिनिधिहरूलाई निरन्तर लबिङ गरिरहेका छन् । ‘आफ्नो पक्षमा लबिङ गर्ने उहाँ (गणेश थापा) को परम्परा नै हो,’ रूपन्देही जिल्ला संघका उपाध्यक्ष खेमराज गुरुङ (मुन्ना) ले भने, ‘प्रतिबन्धमा भएका व्यक्तिले यसरी लबिङ गर्न मिल्दैन । त्यो एकदमै गलत हो ।’ उनी स्थानीय लिस्नु क्लबका निवर्तमान अध्यक्ष एवम् आसन्न जिल्ला संघको निर्वाचनका लागि मताधिकार प्राप्त प्रतिनिधि हुन् । उनीसहित जिल्ला संघका सातजना पदाधिकारी तथा क्लबका प्रतिनिधिलाई थापाले कुमार केसीलाई सहयोग नगर्न भन्दै आग्रह गरेका थिए ।

फिफाकै नियमानुसार पनि प्रतिबन्धमा रहेको अवस्थामा कसैले फुटबलसँग सम्बन्धित कुनै पनि क्रियाकलापमा सहभागी हुन पाउँदैन, कुनै पनि किसिमले सक्रिय हुन पाउँदैन । गणेश थापाले आफ्ना विरोधीहरूलाई फुटबलबाटै हटाउनुपर्ने भन्दै जिल्ला र क्लबका पदाधिकारीलाई मनाउन खोजेको प्रमाण कान्तिपुरलाई प्राप्त भएको छ ।

एन्फाले पुस ५ देखि माघ ५ सम्मआफ्ना ४५ जिल्ला संघलाई निर्वाचन गर्न निर्देशन दिइसकेको छ र त्यसैअनुसार आठ जिल्लामा सम्पन्न पनि भइसकेको छ । एन्फाको केन्द्रीय कार्यसमितिको निर्वाचन १४ चैतमा हुनेछ । हालका अध्यक्ष नरेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष मणि कुँवर र पूर्वउपाध्यक्ष कर्माछिरिङ शेर्पा यसपालि अध्यक्षमा भिड्ने अनुमान गरिएको छ । श्रेष्ठ गणेश थापाका विश्वास पात्र हुन् । थापाकै सालो हुन्, कुँवर र शुद्धीकरण अभियानका प्रमुख हुन् शेर्पा ।

 

राजु घिसिङ्ग द्वारा कान्तिपुरमा लिखित लेख साभार |