सई सा’ब भए जुमानु, राष्ट्रिय टिममा नफर्किने ‘घोषणा’

नेपाली यू-२३ टोलीले बंगलादेशसँग मैत्रिपूर्ण फुटबल खेल्नु अघि नेपाली फुटबल समर्थकका लागि खुसीको खबर बन्यो, जुमानु राईको बढुवा ।

दुई तारे फुली लगाएर हँसिलो मुद्रामा रहेका जुमानुको तस्वीर शेयर गर्दै धेरैले बधाई दिएका छन् ।

19875568 1590900424294342 1564672297076241562 nनेपाली राष्ट्रिय टोलीका स्ट्राइकर समेत रहेका राईको प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको हो अर्थात उनी अब सई सा’ब भएका छन् ।जुमानुले हालै प्रमोसन पाएका हुन् । सर्लाहीको हरिवनमा घर भएका जुमानुले २०५९ सालमा नेपाल पुलिस क्लबमा प्रवेश पाएका थिए ।

लगत्तै उनले प्रहरीमा सिपाहीको जागिर पाए । त्यसपछि उनले तीनपटक प्रमोसन खाएका छन् । पुलिस टिमले राष्ट्रिय लिग जित्दा उनको हवल्दारमा बढुवा भयो भने, एएफसी प्रेसिडेन्ट कपमा उपविजेता हुँदा असई भए ।उनी अहिले पुलिस टिमका कप्तान हुन् । जसले पहिला फुली लगाउँछ, पुलिस क्लबमा उसैलाई कप्तान दिइन्छ ।

जुमानु पुलिसमा प्रवेश गर्दा नेपाली फुटबलमा पुलिस क्लबकै दबदबा थियो । खेलाडीहरु पनि पुलिससँग एकसेएक थिए । त्यसैले टिममा स्थान बनाउन जुमानुलाई सजिलो थिएन । तर, जब मौका पाउँथे, जुमानुले आफूलाई प्रमाणित गरेर देखाउँथे । अन्ततः उनले एउटा स्ट्राइकरको भूमिकामा आफूलाई स्थापित गरे ।

२०६२ सालमा उनले राष्ट्रिय फुटबल टिममा स्थान बनाए । मकाउविरुद्धको खेलमा उनले डेब्यू गरेका थिए । नेपाली फुटबलमा अहिले पुलिसको दबदबा पहिले जस्तो छैन । जुमानु पनि राष्ट्रिय टोलीमा नपरेको धेरै भइसक्यो । आफू राष्ट्रिय टिमबाट खेल्दा सबैले सतप्रतिशत प्रयास गरेको तर सोचेअनुसार नतिजा निकाल्न नसकेको उनले बताए ।

उनले आफ्नो करिअरमा राष्ट्रिय टिमबाट ५३ म्याच खेलेका छन् भने १२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । ३४ वर्षीय जुमानुले भने, ‘अहिले आएका नयाँ भाइहरुले धेरै राम्रो गरिरहेका छन्, अब म उनीहरुको ठाउँ लिन चाहन्न ।’

 

-http://www.onlinekhabar.com/2017/07/609151/


अनलाइन खबर संग कुरा गरेको आधारमा :