फिफा गोल प्रोजेक्ट अनियमितता - कान्तिपुर समाचार

dharan stadium

 

नेपालको धरानस्थित फुटबल एकेडेमी सुविधायुक्त मैदानमा बाख्रा चरिरहेको भेटिन्छ। यहाँ खटिने एक्ला कर्मचारी (चौकीदार) ले एक वर्षयता तलब नपाएको बताए।

पाकिस्तानको हकबे ट्रेनिङ सेन्टरमा फुटबल मैदान मान्न लायक केही देखिँदैन। खेलाडी छैनन् र गोलपोस्ट मात्र छ। फिफाको ५ लाख डलर सहयोगमा अरेबियन समुद्री तटनजिक कराँचीमा यसको निर्माण औपचारिक रूपमा दुई वर्षअघि मात्र पूरा भएको थियो। यी दुबै फिफाको रकमले बनेका हुन्। दक्षिण एसियामा फुटबल विकासका लागि भनेर आयोजित यी दुई परियोजनाको आधाभन्दा बढी निर्माण कार्य हुनै बाँकी छ। जबकि यी दुई देशले यो वर्ष मात्र फुटबलको सर्वोच्च संस्था फिफाबाट २० लाख डलर बढी लिइसकेका छन्।

पाकिस्तानको सबभन्दा राम्रो समुद्री तटको रिसोर्टनजिक बिल्डिङको छतमा कंक्रिटको ठूलो फुटबल पनि छ। मैदान नदीको किनारजस्तो छ, जहाँ घाँस छैन। गार्डले रोयसर्टका रिपोर्टरलाई भित्र जान पनि दिएन। सिध्न फुटबल संघका कोषाध्यक्ष रहिम बलोचले त्यहाँ राष्ट्रिय टिमले कहिल्यै प्रशिक्षण नगरेको बताए। लहोरस्थित कार्यालयमा हायतले सुरुमा आठमध्ये चार परियोजना सम्पन्न भएको बताएका थिए, तर पछि उनले भनेका र भेटिएको तथ्यबारे बुझ्न खोज्दा फोन र म्यासेजको जवाफ दिएनन्।

नेपालको अवस्था पनि त्यस्तै छ। धरान टेक्निकल सेन्टर २००२ मा बनाइएको थियो। तर, त्यसपछि ६ वर्ष लागूपदार्थ दुव्र्यसनी र माओवादी लडाकुले प्रयोग गरेको एकेडेमीका निर्देशक दीपक राईले बताए। स्थानीय क्लबले कहिलेकाहीं त्यहाँ ट्रेनिङ गर्छन्। तर, व्यावसायिक भएको छैन। '२००८ मा उद्घाटन गर्दा स्थानीयले चपरीले घाँससहितको माटो उठाएर मैदानलाई खेल्नलायक देखाउन खोजेका थिए,' राईले भने।

फिफका तत्कालीन दक्षिण एसियाली विकास निर्देशक मणिलाल फर्नान्डो र एन्फा अध्यक्ष थापाले धरानमा उद्घाटन गरेका थिए। एसियाली फुटबल महांसघको २००९ चुनावसम्बन्धी घूस र भ्रष्टाचारसम्बन्धी अनुसन्धानपछि फर्नान्डोलाई फिफाले २०१३ मा आजीवन प्रतिबन्ध लगाएको थियो। फिफा कार्यसमितिमा पनि रहेका यी श्रीलंकालीले दक्षिण एसियामा गोल प्रोजेक्ट दिएका थिए।

फर्नान्डोले २००५ देखि २०१२ सम्म दक्षिण एसियामा व्यवस्थापन गरेका 'सुनामी कोष र गोल प्रोजेक्ट'बारे एन्फालाई पनि फिफाको इथिक्स कमिटिले अनुसन्धानको दायरामा राखेको गत वर्ष जनाएको थियो। कमिटीका प्रवक्ताले अनुसन्धान नसकिएको जनाउँदै विस्तृत विवरण दिन अस्वीकार गरे।

दुई दशकयता एन्फाको नेतृत्व गर्दै आएका थापामाथि २०१२ मा केपीएमजी अडिटमा 'नगदको अनुपयुक्त वितरण' गरेको पाइएपछि फिफाको इथिक्स कमिटीले छानबिन गरिरहेको छ। धरान सेन्टरबारे थापाले आफू अनविज्ञ भएको दाबी गर्दै स्थानीय अधिकारीको असहयोग र संघको आर्थिक कमजोरीलाई दोष दिँदै पन्छिए।

सन् २००० यता फिफाले एन्फालाई फुटबल विकासका लागि ६९ लाख डलर दिएको छ। यस वर्ष मात्र १० लाख ५० हजार डलर दियो। धरानसहित तीन फुटबल एकेडेमी सञ्चालन गर्न फिफाले गोल प्रोजेक्टअन्तर्गत ४ लाख डलर २०१० मा दिएको थियो। तर, एन्फाले धरानलाई त्यो वर्ष १३ हजार डलर मात्र दियो। २५ युवा खेलाडीलाई पूर्णकालीन ट्रेनिङका लागि २००९–१२ को बीच १३ हजार र २१ हजार ३ सय ७० डलर दिएको थियो। थापा र एन्फा अडिटका अनुसार १३ वर्षयता धरान सेन्टर प्रयोगमा आएको यही एक मात्र हो।

खेलाडीलाई स्थानीय अधिकारीले गर्ने व्यवहारलाई लिएर धरान सेन्टर बन्द गरिएको थापाले बताए। 'म त्यहाँ जाँदा राम्रोसँग नहेरेको र केही पनि नसिकाएको भन्दै उनीहरू रोइरहेका थिए,' थापाले भने, 'तर, त्यहाँबाट उत्पादित दुई खेलाडीले उनको भनाइ सत्य नभएको बताए।'

मोरङ फुटबल क्लबका १८ वर्षीय खेलाडी मोहन कटवालले भने, 'धरानको ट्रेनिङ राम्रो थियो। मेरो समय राम्रोसँग बित्यो।' कमर्सका विद्यार्थी सुशान्त चौधरीले पनि ट्रेनिङ राम्रो भएको बताए।

थापाले 'गोल प्रोजेक्ट'को ट्रेनिङको पैसा काठमाडौंस्थित एकेडेमी सञ्चालनमा खर्च गर्ने आफूले निर्णय गरेको बताए। उनी काठमाडौंमै सीमित गर्नमा केन्द्रित भए। दोस्रो गोल प्रोजेक्टबाट राजधानीकै च्यासलमा आधा घेरिएको एकेडेमी बनाए। कोठा बन्द छन्। अनावश्यक वस्तुले करिडोर ढाकिएको छ। मैदानको ठूलो क्षेत्र खराब छ। यहाँ कहिल्यै पूर्णकालीन ट्रेनिङ सञ्चालन नगरेको थापाले बताए। 'यो निकै खतरनाक छ। यो उपयुक्त स्थान होइन। यस वरिपरि दुव्र्यसनी छन्,' उनले भने।

थापाले यस वर्षको फिफाको सहयोग कसरी गर्ने भन्ने अझै सोचिरहेको बताए। तर, धरानका चौकिदार अर्जुन बुढाथोकीले भने, 'अगस्त २०१४ पछि तलबै पाएको छैन।' धरानमा स्थानीय दुई प्रतियोगिता सञ्चालन गर्न घाँस काटाएर सतह मिलाइन्छ। 'त्यसपछि यो काम बाख्राले गर्छ,' स्थानीय दीगम्बर पुरीले भने। चौपाया पालन गरिरहेका उनी धरान सेन्टर सञ्चालन हुँदा सहायक म्यानेजर थिए।

Content/Photo: Kantipur