भ्रष्टाचारको छानबिनका कारण गणेश थापा एएफसी निर्वाचनमा सहभागी हुन नपाउने: Pahilopost

afchouse 2013b

एसियाली राष्ट्रहरुको फुटबलको सर्वेसर्वा एसियाली फुटबल महासंघ (एएफसी) को निर्वाचनमा गणेश थापा सहभागी हुन नपाउने भएका छन्। भ्रष्टाचारको विषयमा छानबिन हुँदै गरेकोले निलम्बित हुनुअघि उनी एएफसीका उपाध्यक्ष थिए।

सन् २०१५ को निर्वाचनका लागि एएफसीले सार्वजनिक गरेको तालिका अनुसार अप्रिल ३०, २०१५ मा मतदान हुने तय भएको छ। तर, एएफसीको विधान अनुसार त्योभन्दा ६० दिनअघि नै सदस्य संघहरुले उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ।

विश्व फुटबल महासंघ (फिफा) को अनुशासन कमिटीले भ्रष्टाचारको विषयमा छानबिन जारी राख्दासम्म गत नोभेम्बर ४ देखि लागू हुने गरी चार महिना (१२० दिन) का लागि थापालाई निलम्बन गरेको थियो। उम्मेदवारी दर्ताको समय निलम्बन अवधिभित्रै परेका कारण उनी यस पटक निर्वाचन प्रक्रियामा सहभागी हुन नसक्ने भएका हुन्।

२० वर्षसम्म नेपाली फुटबलको नेतृत्वमा रहेका थापासहित अखिल नेपाल फुटबल संघ (एन्फा)का चार पदाधिकारीलाई संसद्को सार्वजनिक लेखा समितिले ५८ करौड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै पद स्थगन गरी अनुसन्धान अगाडि बढाउन खेलकुद मन्त्रालय, अख्तियार अनुसन्धान आयोग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिएको थियो।

सुरुमा पद छाड्न आनाकानी गरिरहेका थापाले फिफाबाटसमेत यल्लो कार्ड पाएपछि गत कात्तिकमा दुई महिनाका लागि पद छाडेर आफू निकटकै वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता ललितकृष्ण श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। सो दुई महिनाको अवधि पुस ३ मा सकिसकेको छ।

तर त्यसको दुई साता नबित्दै फिफाको अनुशासन कमिटीलाई थापाले चार महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रशासनिक, खेल वा अन्य कुनै पनि रुपमा फुटबलसँग सम्बन्धित गतिविधिमा सहभागी नहुने बताएका थिए। यो अवधि फागुन १९ (मार्च ३, २०१५) सम्म रहनेछ।

योसँगै एएफसीको वेबसाइटबाट उपाध्यक्षहरुको सूचीमा चीन, मलेसिया, युएईसँगै रहेको नेपालको नाम हटाई अस्ट्रेलियाको नाम थपिएको छ।

मलेसियाको क्वालालम्पुरमा मुख्य कार्यालय भएको एएफसीमा ४६ सदस्य र एक एसोसिएट सदस्य छन्। एसियामा फुटबलको नियमन गर्ने, नयाँ नियम बनाउने, महत्त्वपूर्ण प्रतियोगिता आयोजना गर्ने, फुटबलको विकासका लागि आवश्यक कार्यक्रम ल्याउने जस्ता काम यसैमार्फत् हुने गर्छ। छ सदस्य महासंघ मिलेर बनेको विश्व फुटबल महासंघ (फिफा) को एक महासंघ एएफसी हो।