आहा कपमा अल्टरसट टाउन एफसी आउने: Nagarik News

aldershot town fc 2

पोखरामा माघ अन्तिम साता हुने आहा–रारा गोल्डकप फुटबलमा भाग लिन बेलायती टोली अल्टरसट टाउन एफसी आउने भएको छ।

बेलायतमा बसोबास गर्ने नेपालीले गठन गरेको सहारा एफसी युकेसँग सहकार्यमा इङ्लिस लिग फुटबल पिरामिडअन्तर्गत पाँचौं श्रेणीको क्लबको दोस्रो रोजाइ टोली नेपाल आउने भएको हो। टोलीमा अल्डरसटको पहिलो रोजाइका पाँच खेलाडी रहने सहारा युकेका अध्यक्ष नवीन गुरुङले जानकारी गराएका छन्। उनका अनुसार अल्डरसटले नेपाल आउन २० सदस्यीय टोली तयार गरेको छ। अल्डरसट टोलीमा नेपाली राष्ट्रिय टोलीका पूर्वफिजियो नवल गुरुङ सल्लाहकार तथा फिजियोको भूमिकामा हुनेछन्।
टोली फेब्रुअरी ६ मा काठमाडौं आइपुग्ने बताइएको छ।

'अल्डरसटका खेलाडी र पदाधिकारीहरू नेपाल भ्रमणका लागि निकै उत्साही छन्। नेपाल गएर आहा–रारा गोल्डकपमा भाग लिनुका साथै फुटबलको माध्यमबाट केही उपकारी काम पनि गर्ने उनीहरूको योजना छ,' गुरुङले अल्डरसटका फिजियो नवल गुरुङलाई उद्धृत गर्दै लेखेका छन्, 'अल्डरसटको टोली १३औं आहा रारा गोल्डकपको उपाधि उचाल्न सक्षम छ।'

अहिले कन्फरेन्स प्रिमियर लिग खेलिरहेको अल्डरसटले चार तह बढुवा भएपछि मात्र प्रिमियर लिगको हैसियत पाउनेछ। अल्डरसटले खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता एफए कप हो। क्लबको लन्डनको अल्डरसट सिटीमा ७ हजार ५ सय दर्शक क्षमताको आफ्नै रंगशाला छ।

नेपालको फुटबल विकासमा सहयोग गर्ने दीर्घकालीन लक्ष्यसहित सहारा युके र अल्डरसटबीच सहमति भएको थियो। सहमतिअनुसार अल्डरसटले सञ्चालन गरिरहेको यु–८ र यु– ११ को एकेडेमीमा बेलायतमै बसोबास गर्ने नेपाली बालकलाई प्रशिक्षण गराउने, नेपालका प्रतिभावान खेलाडीलाई क्लबमा व्यावसायिक अनुबन्धन दिने, नेपाली टिमलाई भ्रमण गराउने थियो।