आहा गोल्डकपमा अल्टरसटको सहभागिता अनिश्चत: Nagarik News

aldershot fc

पोखराको आहा गोल्डकप फुटबलको मिति तय हुन नसक्दा बेलायती क्लबको सहभागिता अनिश्चित बनेको छ। सहारा युकेसँग आबद्ध बेलायती क्लब अल्टरसट एफसी १३औं आहा गोल्डकप खेल्न इच्छुक रहे पनि आयोजकले प्रतियोगिताको समयतालिका उपलब्ध गराउन नसकेपछि टोलीको सहभागिता अनिश्चित भएको हो।

पोखराको सहारा क्लबको सहयोगका लागि बेलायतमा बसोबास गर्दै आएका नेपालीले सहारा युके स्थापना गरेका थिए। सहारा युके फुटबल कार्यक्रम आदानप्रदान सम्झौतासहित यसै वर्ष अल्टरसटसँग आबद्ध भएको थियो। दुई क्लबबीचको सहमतिअनुसार नै अल्टरसट नेपाल आउने तयारीमा थियो। सहारा क्लबले आहा गोल्डकप आयोजना गर्ने भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृति प्राप्त भइनसकेको कारण मिति तय हुन सकेको छैन।

'आहा गोल्डकपको मिति तय नभएकाले अल्टरसटको सहभागिता अनिश्चितजस्तै भएको छ,' सहारा युकेका अध्यक्ष नवीन गुरुङले बेलायतबाट नागरिकसँग फोनमा भने, 'नेपाल आएर खेल्ने भनेर मात्र भएन। त्यसका प्रक्रिया पूरा गर्नुपर्योग। मिति तय नभएकाले प्रक्रिया सुरु गर्न पाएका छैनौं।'
सहाराका अध्यक्ष वीरभद्र आचार्य माघ ६–१७ गते आहा गोल्डकप गर्ने प्रस्ताव गरिए पनि एन्फाले स्वीकृति नदिएका कारण अन्योल परेको बताउँछन्।

'एन्फाले जिल्ला फुटबल संघ कास्की र हामीलाई आपसी सहमतिमा मिति तय गर्न भनेको थियो। त्यहीअनुरुप छलफल पनि भयो,' उनले भने, 'कास्कीले मनकामना केबुलकार गोल्डकप पुस २२ देखि माघ ३ सम्म गर्ने र हामीले केही पछिबाट आहा गोल्डकप गर्ने भन्ने सहमति भयो। तर, अझै केन्द्रले स्वीकृति दिएको छैन। त्यसले अन्योलता यथावत छ।'

सहारा फुटबल एकेडेमी चलाउन आर्थिक संकलन गर्नलाई हुने आहा गोल्डकपलाई एन्फाले छिट्टै स्वीकृति दिनेमा अध्यक्ष आचार्य आशावादी छन्। 'यसपटक अल्डरसट आउने तयारीमा थियो। तर मिति तय नहुँदा अब आउनेमा शंका बढेको छ,' उनले भने, 'अझै पनि ढिला गर्ने हो भने अन्य तयारीमा समेत असर पर्नेछ।'

एन्फा महासचिव धिरेन्द्र प्रधान भने स्वीकृति दिन अझै केही दिन लाग्ने बताउँछन्। 'राष्ट्रिय लिगको मिति तय गर्नेबित्तिकै मोसफलका प्रतियोगितालाई स्वीकृति प्रदान गर्नेछौं,' उनले भने, 'त्यसका लागि अझै केही दिन लाग्न सक्छ। प्रायोजकसँग सहमति भएसँगै जिल्लाका प्रतियोगितालाई स्वीकृति दिन सहज हुन्छ। मोफसलका सबै प्रतियोगिता होस् भन्ने एन्फा चाहन्छ। '

एन्फाले मंसिर २२ बाट गर्ने तय भएको राष्ट्रिय लिग अझै हुन सकेको छैन।

उता सहाराका अध्यक्ष आचार्य भने आहा गोल्डकप आयोजनाका लागि छिटो वातावरण बनाइदिन एन्फालाई आग्रह गरेका छन्। 'द्वन्द्वका बेला होस् वा केन्द्रमा आन्तरिक विवादमा प्रतियोगिता सञ्चालन गर्न नसक्दा पनि आहा गोल्डकप निर्वाध चल्यो र त्यसले देशभर फुटबलको माहौललाई जोगाउने काम गर्यौंा,' उनले भने, 'अहिले किन यति अलमल गरिएको हो। यसलाई एन्फाले छिटो समाधान गर्नुपर्छ।

अन्योलबीच यसअघि तय भएको मितिमा गर्न असम्भव भएकाले माघ २० देखि फागुन २ सम्म आहा गोल्डकप गर्ने तयारीमा क्लब रहेको आचार्यले बताए। उनले भने, 'तर त्यसका लागि पनि एन्फाको स्वीकृति दिनुपर्छ। अन्यथा अन्योल यथावत रहन्छ। '
अल्डरसट इङ्लिस फुटबल लिग संरचनामा पाँचौं श्रेणीको क्लब हो। २००८ देखि २०१२/१३ को सिजनसम्म लिग 'टु' खेलेको टोली २०१३ मा रेलिगेसन परेको थियो।

अहिले कन्फरेन्स प्रिमियर लिग खेलिरहेको अल्डरसटले चार तह बढुवा भएपछि मात्र प्रिमियर लिगको हैसियत पाउनेछ। अल्डरसटले खेल्न पाउने सबैभन्दा ठूलो प्रतियोगिता एफए कप हो। क्लबको लन्डनको अल्डरसट सिटीमा ७ हजार ५ सय दर्शक क्षमताको आफ्नै रंगशाला छ।

नेपालको फुटबल विकासमा सहयोग गर्ने दीर्घकालीन लक्ष्यसहित सहारा युके र अल्डरसटबीच सहमति भएको थियो। सहमतिअनुसार अल्डरसटले सञ्चालन गरिरहेको यु–८ र यु– ११ को एकेडेमीमा बेलायतमै बसोबास गर्ने नेपाली बालकहरूलाई प्रशिक्षण गराउने, नेपालका प्रतिभावान खेलाडीलाई क्लबमा व्यावसायिक अनुबन्धन दिने, नेपालको टिमलाई भ्रमण गराउने थियो।

आहा गोल्डकपमा नेपाल भ्रमण गर्दा अल्टरसटले नेपाली फुटबललाई केही सामग्री सहयोग गर्ने योजना पनि प्रभावित हुने गुरुङले सुनाए। 'भ्रमणक्रम फुटबल सामग्री हस्तान्तरण गर्ने योजना थियो,' उनले भने, 'टोली नेपाल जाने विषय नै अनिश्चित भएपछि अन्य कार्यक्रम पनि प्रभावित हुने भयो।'

Content: Nagariknews