थापासँग एन्फाले स्पष्टीकरण माग्यो - नागरिकन्युज

anfalogo

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियोजित षडयन्त्रको आरोप लगाएका एपिएफका प्रशिक्षक कृष्ण थापासँग स्पष्टीकरण मागेको छ। मंगलबार रुस्लान थ्री स्टारसँगको खेलपछि थापाले भनेका थिए 'करिब ५ महिनापछि लिग सुरु भएको छ।

एन्फाले हामीविरुद्ध षडयन्त्र नगरेको भए हामी लिग रोकिएको यो अवधिभर शीर्ष स्थानमा रहन्थ्यौं। एन्फाले हामीलाई शीर्ष स्थानमा रहन नदिनकै लागि भुइँचालो गएको दिन वैशाख १२ मा पनि लिगको खेल गरायो।,' भनेर नागरिकन्युजले समाचार छापेको छ

थापालाई असोज २ गते १० बजेभित्र लिखित जवाफ पेश गर्ने गरी स्पष्टीकरण मागिएको जनाउँदै एन्फाका सिइओ इन्द्रमान तुलाधरले भने, 'सबै क्लब प्रतिनिधिको सहभागितामा नियमानुसार बनाइएको खेलतालिकामा उहाँले कसरी एन्फाको षडयन्त्र देख्नुभयो। त्यसमा जवाफ मागेका छौं।'

एन्फाले थापाले झापा र मोरङबीचको भइसकेको खेलमा मिलेमतो भएको र हुने खेलमा पनि त्यस्तै हुने अभिव्यक्ति दिएकोमा पनि जवाफमा मागेको छ।

सोही पत्रकार सम्मेलनमा थापाले वैशाख १२ मा झापा र मोरङबीच भएको खेलमा मिलेमतो भएको र तीनै दुई टोलीबीच भदौ ३० मा हुने खेलमा पनि मिलेमतोको आशंका अघिल्लो दिन गरेका थिए। ' उहाँले मिलेमतोको आरोप लगाउनु भएको छ,' सिइओ तुलाधरले भने,'त्यसको आधार के हो, प्रमाण पेश गर्न भनेका छौं।'

फिफा गोल प्रोजेक्ट अनियमितता - कान्तिपुर समाचार

dharan stadium

 

नेपालको धरानस्थित फुटबल एकेडेमी सुविधायुक्त मैदानमा बाख्रा चरिरहेको भेटिन्छ। यहाँ खटिने एक्ला कर्मचारी (चौकीदार) ले एक वर्षयता तलब नपाएको बताए।

पाकिस्तानको हकबे ट्रेनिङ सेन्टरमा फुटबल मैदान मान्न लायक केही देखिँदैन। खेलाडी छैनन् र गोलपोस्ट मात्र छ। फिफाको ५ लाख डलर सहयोगमा अरेबियन समुद्री तटनजिक कराँचीमा यसको निर्माण औपचारिक रूपमा दुई वर्षअघि मात्र पूरा भएको थियो। यी दुबै फिफाको रकमले बनेका हुन्। दक्षिण एसियामा फुटबल विकासका लागि भनेर आयोजित यी दुई परियोजनाको आधाभन्दा बढी निर्माण कार्य हुनै बाँकी छ। जबकि यी दुई देशले यो वर्ष मात्र फुटबलको सर्वोच्च संस्था फिफाबाट २० लाख डलर बढी लिइसकेका छन्।

पाकिस्तानको सबभन्दा राम्रो समुद्री तटको रिसोर्टनजिक बिल्डिङको छतमा कंक्रिटको ठूलो फुटबल पनि छ। मैदान नदीको किनारजस्तो छ, जहाँ घाँस छैन। गार्डले रोयसर्टका रिपोर्टरलाई भित्र जान पनि दिएन। सिध्न फुटबल संघका कोषाध्यक्ष रहिम बलोचले त्यहाँ राष्ट्रिय टिमले कहिल्यै प्रशिक्षण नगरेको बताए। लहोरस्थित कार्यालयमा हायतले सुरुमा आठमध्ये चार परियोजना सम्पन्न भएको बताएका थिए, तर पछि उनले भनेका र भेटिएको तथ्यबारे बुझ्न खोज्दा फोन र म्यासेजको जवाफ दिएनन्।

नेपालको अवस्था पनि त्यस्तै छ। धरान टेक्निकल सेन्टर २००२ मा बनाइएको थियो। तर, त्यसपछि ६ वर्ष लागूपदार्थ दुव्र्यसनी र माओवादी लडाकुले प्रयोग गरेको एकेडेमीका निर्देशक दीपक राईले बताए। स्थानीय क्लबले कहिलेकाहीं त्यहाँ ट्रेनिङ गर्छन्। तर, व्यावसायिक भएको छैन। '२००८ मा उद्घाटन गर्दा स्थानीयले चपरीले घाँससहितको माटो उठाएर मैदानलाई खेल्नलायक देखाउन खोजेका थिए,' राईले भने।

फिफका तत्कालीन दक्षिण एसियाली विकास निर्देशक मणिलाल फर्नान्डो र एन्फा अध्यक्ष थापाले धरानमा उद्घाटन गरेका थिए। एसियाली फुटबल महांसघको २००९ चुनावसम्बन्धी घूस र भ्रष्टाचारसम्बन्धी अनुसन्धानपछि फर्नान्डोलाई फिफाले २०१३ मा आजीवन प्रतिबन्ध लगाएको थियो। फिफा कार्यसमितिमा पनि रहेका यी श्रीलंकालीले दक्षिण एसियामा गोल प्रोजेक्ट दिएका थिए।

फर्नान्डोले २००५ देखि २०१२ सम्म दक्षिण एसियामा व्यवस्थापन गरेका 'सुनामी कोष र गोल प्रोजेक्ट'बारे एन्फालाई पनि फिफाको इथिक्स कमिटिले अनुसन्धानको दायरामा राखेको गत वर्ष जनाएको थियो। कमिटीका प्रवक्ताले अनुसन्धान नसकिएको जनाउँदै विस्तृत विवरण दिन अस्वीकार गरे।

दुई दशकयता एन्फाको नेतृत्व गर्दै आएका थापामाथि २०१२ मा केपीएमजी अडिटमा 'नगदको अनुपयुक्त वितरण' गरेको पाइएपछि फिफाको इथिक्स कमिटीले छानबिन गरिरहेको छ। धरान सेन्टरबारे थापाले आफू अनविज्ञ भएको दाबी गर्दै स्थानीय अधिकारीको असहयोग र संघको आर्थिक कमजोरीलाई दोष दिँदै पन्छिए।

सन् २००० यता फिफाले एन्फालाई फुटबल विकासका लागि ६९ लाख डलर दिएको छ। यस वर्ष मात्र १० लाख ५० हजार डलर दियो। धरानसहित तीन फुटबल एकेडेमी सञ्चालन गर्न फिफाले गोल प्रोजेक्टअन्तर्गत ४ लाख डलर २०१० मा दिएको थियो। तर, एन्फाले धरानलाई त्यो वर्ष १३ हजार डलर मात्र दियो। २५ युवा खेलाडीलाई पूर्णकालीन ट्रेनिङका लागि २००९–१२ को बीच १३ हजार र २१ हजार ३ सय ७० डलर दिएको थियो। थापा र एन्फा अडिटका अनुसार १३ वर्षयता धरान सेन्टर प्रयोगमा आएको यही एक मात्र हो।

खेलाडीलाई स्थानीय अधिकारीले गर्ने व्यवहारलाई लिएर धरान सेन्टर बन्द गरिएको थापाले बताए। 'म त्यहाँ जाँदा राम्रोसँग नहेरेको र केही पनि नसिकाएको भन्दै उनीहरू रोइरहेका थिए,' थापाले भने, 'तर, त्यहाँबाट उत्पादित दुई खेलाडीले उनको भनाइ सत्य नभएको बताए।'

मोरङ फुटबल क्लबका १८ वर्षीय खेलाडी मोहन कटवालले भने, 'धरानको ट्रेनिङ राम्रो थियो। मेरो समय राम्रोसँग बित्यो।' कमर्सका विद्यार्थी सुशान्त चौधरीले पनि ट्रेनिङ राम्रो भएको बताए।

थापाले 'गोल प्रोजेक्ट'को ट्रेनिङको पैसा काठमाडौंस्थित एकेडेमी सञ्चालनमा खर्च गर्ने आफूले निर्णय गरेको बताए। उनी काठमाडौंमै सीमित गर्नमा केन्द्रित भए। दोस्रो गोल प्रोजेक्टबाट राजधानीकै च्यासलमा आधा घेरिएको एकेडेमी बनाए। कोठा बन्द छन्। अनावश्यक वस्तुले करिडोर ढाकिएको छ। मैदानको ठूलो क्षेत्र खराब छ। यहाँ कहिल्यै पूर्णकालीन ट्रेनिङ सञ्चालन नगरेको थापाले बताए। 'यो निकै खतरनाक छ। यो उपयुक्त स्थान होइन। यस वरिपरि दुव्र्यसनी छन्,' उनले भने।

थापाले यस वर्षको फिफाको सहयोग कसरी गर्ने भन्ने अझै सोचिरहेको बताए। तर, धरानका चौकिदार अर्जुन बुढाथोकीले भने, 'अगस्त २०१४ पछि तलबै पाएको छैन।' धरानमा स्थानीय दुई प्रतियोगिता सञ्चालन गर्न घाँस काटाएर सतह मिलाइन्छ। 'त्यसपछि यो काम बाख्राले गर्छ,' स्थानीय दीगम्बर पुरीले भने। चौपाया पालन गरिरहेका उनी धरान सेन्टर सञ्चालन हुँदा सहायक म्यानेजर थिए।

Content/Photo: Kantipur

ब्युँताउँदै महिला फुटबल- कान्तिपुर समाचार

girls football

लमजुङकी १६ वर्षीया ननिता गुरुङ गाउँमा हुँदा स्ट्राइकर भएर गाविसस्तरीय थुप्रै फुटबल प्रतियोगितामा खेलिन् । धेरै पटक उनको टिमले प्रतियोगितामा कप पनि उचालेको हो ।

दुई महिनायता उनी गाउँ छाडेर अध्ययनका लागि पोखरा आएकी छन् । टप्स उच्चमाविमा कक्षा ११ मा पढ्दै गरेकी उनी सोमबार एकाबिहानै सोमबार पोखरा रंगशालामा भेटिइन् ।

सानैदेखि खेल्दै आएकी उनी यसैमा भविष्य बनाउन विगत तीन महिनादेखि प्रशिक्षणमा व्यस्त छिन् । 'गाउँमा खेल्दा प्रतियोगितामा ३ देखि ५ गोलसम्म हानेकी छु,' फुर्तिलो पारामा उनले भनिन्, 'फुटबलमै केही गरौं भनेर ट्रेनिङ लिन थालेकी हुँ ।'

रंगशालाको मैदानमा उनी जस्तै फुर्तिला किशोरीहरू यतिबेला पोखराको फुटबललाई ब्युँताउन परिश्रमसाथ प्रशिक्षणमा छन् ।

उनीहरूलाई प्रशिक्षणको अवसर पोखरा फुटबल ट्रेनिङ सेन्टरले जुराएको हो । खेलाडी उत्पादनमा कास्की जिल्ला फुटबल संघले पनि सहकार्य गरेको छ । पूर्वराष्ट्रिय तथा अग्रज खेलाडी मिलेर स्थापना गरेको यो संस्थाले उनीहरूलाई नि:शुल्क प्रशिक्षण दिएको छ ।

१८ वर्षीया लक्ष्मी गुरुङ फुटबल नियमित खेल्दै आए पनि चाहिनेजस्तो प्रशिक्षण नपाएर खेल करिअर अगाडि बढाउने कि नबढाउने दोधारमा थिइन् ।

अहिले नि:शुल्क फुटबल प्रशिक्षणको अवसर पाएपछि भने उनी फुटबललाई नै करिअर बनाउने सोचमा पुगेकी छन् । यसअघि डिफेन्सबाट फुटबल खेल्दै आएकी उनले भनिन्, 'ट्रेनिङले खेललाई अघि बढाउन सहयोग गर्ने अपेक्षा लिएकी छु ।' उनले प्रशिक्षणसँगै खेल गतिविधिको अभावले महिला फुटबल अगाडि बढ््न नसकेको गुनासो गरिन् ।

उनी सम्मिलित भएको पोखराको टिमले यसअघि काठमाडौंमा भएको कोकाकोला कपमा तेस्रो स्थान हात पारेको थियो । ह्यान्डबलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी १९ वर्षीया सुस्मिता गुरुङ पनि फुटबल प्रशिक्षणमा असिनपसिन भएको अवस्थामा भेटिइन् ।

त्यसो त उनी फुटबल र क्रिकेटको पनि राम्रो खेलाडी मानिन्छिन् । स्कुले जीवनमा उनी नै कप्तान बनेर धेरै खेल खेलेको बताइन् । ५ फिट ४ इन्च उचाइकी उनले अब फुटबलमै आफूलाई अभ्यस्त बनाउँदै छिन् । 'अब फुटबलमै करिअर बनाउने भन्ने लागेको छ,' उनले भनिन्, 'राम्रो खेल्न सके महिला फुटबलमा अवसर पाउन सकिन्छ ।'

उनको जस्तै लक्ष्य र सम्भावना खोज्दै २२ जना किशोरी दिनहुँ रंगशालामा बलसँगै दौडधुप गरिरहेका छन् । १६ वर्षदेखि माथि र १९ वर्षभन्दा मुनिका किशोरीहरू प्रशिक्षणमा छन् ।

५० भन्दा बढी किशोरहरूको भिडमा उनीहरू आफूलाई अब्बल देखाउन लागिपरेको देखिन्छन् । एसएलसी दिएका र प्लस टु पढ्दै गरेका किशोरीहरूले हरेक बिहान अढाई घण्टा कठिन अभ्याससहितको प्रशिक्षण लिइरहेका छन् ।

विदेशमा रहेका पूर्वराष्ट्रिय खेलाडीहरूले प्रशिक्षण लिइरहेका उनीहरूलाई बल र जर्सीलगायत सामग्री सहयोग गरिरहेका छन् ।

'महिला फुटबलको अवस्था पछि पर्दै गएकाले सबै खेलप्रेमीमा चिन्ता थपियो,' प्रशिक्षण केन्द्रका प्रमुख तथा फुटबल प्रशिक्षक शम्भु केसीले भने, 'महिलाहरूको फुटबललाई ब्युँताउन जरुरी देखेर नि:शुल्क रूपमा प्रशिक्षण दिन थालिएको हो ।'

फुटबलमा नयाँ पुस्ता हराउँदै गएकाले पनि चार वर्षदेखि नयाँ पुस्ताका खेलाडीलाई प्रशिक्षण दिँदै आएको उनले बताए । किशोरीहरूलाई भने यसै वर्षदेखि प्रशिक्षण दिन थालिएको उनले बताए ।

उनले भने, 'केटाहरूलाई तालिम दिन थालेको चार वर्ष भयो ।' खेलकुद विकास समितिमा २० वर्ष फुटबल प्रशिक्षकका रूपमा रहेर भर्खरै अवकाश लिएका केसीले नेपालका चर्चित फुटबलर अनिल गुरुङ, विजय गुरुङ, शिव श्रेष्ठ, वसन्त, विशन गौचन र सुविन्द्र श्रेष्ठलगायतलाई पनि पोखरामा प्रशिक्षण दिएका थिए । उनले भने, 'पोखरामा २०४२ सालसम्म महिला फुटबलको राम्रो सम्भावना थियो ।'

२०४० सालमा भएको दोस्रो राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा पोखराको टिम दोस्रो भएको थियो । त्यस्तै २०४२ सालमा हङकङमा आमन्त्रण फुटबल खेल्न गएको नेपाली महिला राष्ट्रिय टिममा समेत पोखराका ६ खेलाडी सहभागी भएको केसी सम्झन्छन् ।

त्यसपछि भने महिला फुटबल गतिविधि र खेलाडी उत्पादन ठप्पै भयो । अहिले वर्षौंपछि खेल ब्युँताउन खेलाडीहरू लागिपरेका छन् ।

महिला फुटबल खेलको विकास गर्न आगामी असोज ३ देखि एक साता पोखरामै नेपाल कप महिला आमन्त्रण फुटबल प्रतियोगितासमेत आयोजना हुँदै छ । प्रतियोगितामा कास्की महिला टिमले सहभागिता जनाउने भएको छ ।

Content/Photo: Kantipur

जित्ने दाबी झुठो हुन्छ– ओजेम्स: नागरिकन्युज

nepal training

काठमाडौं – 'कुनै प्रशिक्षकले उपाधि जित्ने दाबी गर्छ भने त्यो सरासर ढाटेको बुझे हुन्छ। मैले पनि त्यस्तो दाबी गरे झुटा बोलिरहेको ठान्नु,' मंगलबार औपचारिक रुपमा राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सम्हालेपछि प्याटि्रक ओजेम्सले भने।

 

साफ च्याम्पियनसिपका पछिल्ला दुई संस्करणमा नेपाल सेमिफाइनल पुगेको पृष्ठभूमिमा यो पटक च्याम्प्यियन बन्ने आशा गर्न सकिन्छ भन्ने प्रश्नमा बेल्जियन प्रशिक्षकको जवाफ थियो, 'जितका लागि कसम खाँदिन तर कडा मिहिनेत र राम्रो प्रदर्शनको ग्यारेन्टी भने दिन सक्छु। टोलीलाई जितका लागि तयार पार्नुपर्छ। प्रदर्शनमा सुधार गर्न सके सफलताको सम्भावना पनि बढ्दै जान्छ।'

सन् २०११ मा ग्राहम रोबर्टस् र दुई वर्ष अघि ज्याक स्टेफानोस्कीको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपको अन्तिम चारमा पुगेको थियो। आठौं संस्करणको समाप्तीसम्म नेपाल फाइनल पुग्न सकेको छैन।

अघिल्लो साता औपचारिक जिम्मेवारी नभए पनि नेपाल र भारतको मैत्रीपूर्ण खेल हेर्न ओजेम्स पुणे पुगेका थिए। उनले मंगलबारदेखि तीन दिन राष्ट्रिय टोलीसहित ३० खेलाडीलाई प्रशिक्षणमा डाकेका छन्। एन्फा कम्प्लेक्सको कृत्तिम मैदानमा उनको प्रशिक्षण झन्डै तीन घन्टा चल्यो। बोलाइएका सवै ३० खेलाडी पहिलो दिन प्रशिक्षणमा सहभागी भए।

पहिलो दिनको प्रशिक्षण पछि खेलाडीका बारेमा उनले भने, 'यहाँका खेलाडी प्रतिभावान छन्। युवामा क्षमता भए पनि अनुभवको कमी देखिन्छ। टोलीमा धेरै परिवर्तन गर्न बाँकी छ। अभ्यास गर्न बाँकी छ। त्यसमा एकाग्रता जरुरी छ। समय पनि लाग्छ।'

डिसेम्बरमा भारतमा हुने साफ च्याम्पियनसिप मुख्य लक्ष्य रहेको जनाउँदै त्यही उदेश्यमा केन्द्रित भएर तयारी अघि बढाउने उनले बताए। 'हामीसँग तीन महिनाको योजना छ। तर त्यसका लागि खेलाडीको प्रदर्शन पनि हेर्न चाहन्छु,' भदौ १० मा पहिलो पटक नेपाल आएका उनले उत्साहित हुँदै भने, 'संयोग भनौं यही साताबाट लिग सुरु हुँदैछ। त्यो हाम्रो लागि खेलाडी खोजीको एउटा मौका हो। मलाई आशा छ, ६/७ खेलाडी त्यहाँबाट छान्न सकिन्छ।'

उनले अवको तीन महिनामा टोलीमा परिवर्तन आउने दाबी गरे। ओजेम्सले योजना सुनाए, 'केही दिनपछि सुरु हुने लिगबाट नयाँ खेलाडी छान्न सकियो भने मैले सोचेजस्तो टोली तयार हुनेछ। त्यसपछि हामी योजना मुताविक अघि बढ्न सक्छौं।'

टोलीमा युवा खेलाडीको बाहुल्य रहेकोमा खुसी व्यक्त गरे पनि फुटबलमा अनुभवको पनि महत्व हुने बताए। 'सम्भवतः नेपाली टोली संसारकै युवा टोलीमा पर्छ। औसतमा खेलाडीको उमेर २५ वर्ष छ,' उनले भने, 'अहिले टोलीमा अनुभवी र कम अनुभव भएका युवा खेलाडी छन्। पहिले खेलाडीको फिटनेसमा बढी ध्यान दिनेछौं। पछि प्राविधिक विषयमा जोड दिँदै युवा र अनुभवी खेलाडीको समिश्रणमा टोलीलाई तयार पार्नेछौं।'

पछिल्लो ८ अन्तर्राष्ट्रिय खेलमा नेपाली खेलाडीले गोल हान्न नसकेको बुझेका उनले आशावादी हुँदै भने, 'नेपालले गोल गर्न सक्छ। त्यसका लागि हामी अभ्यासमा कडा मिहिनेत गर्नेछौंं। म आक्रामक फुटबल खेलाउने प्रशिक्षक हुँ। छिट्टै गोल निस्कनेमा मलाई विश्वास छ। राम्रो मुभ बनाएर कसरी गोल हान्ने त्यो सिकाउने जिम्मा मेरो हो।'

नेपाल आउनुअघि यहाँको फुटबलवारे अनविज्ञ रहेको उल्लेख गर्दै १९९२ देखि प्रशिक्षणमा संलग्न रहँदै आएका ओजेम्सले भने, 'मैले चीनमा पनि केही समय काम गरेँ। तर पनि मलाई नेपाली फुटबलबारे कुनै जानकारी थिएन। अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता भएपछि मात्र मैले यहाँको फुटबलबारे अध्ययन थालेको हुँ।'

 

आक्रमणमा कमजोर

ओजेम्सले पुणेमा भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालको रक्षापंक्तिले उच्च प्रदर्शन गरेको बताए। 'एउटा खेलाडीले अर्कोलाई निकै साथ दिएर खेले। उनीहरुमा दृढता र जुझारुपन देखिन्थ्यो,' मासिक ७ हजार डलरमा एन्फासँग सम्झौता गरेका उनले खेलको स्मरण गर्दै भने, 'आक्रमणमा कमजोर देखियो। नेपाली खेलाडी शारिरिक रुपमा जब्बर छैनन्। प्राविधिक रुपमा भने उत्कृष्ट छन्। तर भारतसँग अनावस्यक लामो पास खेले। त्यसैले छोटो पासमा केन्द्रित हुनु पर्ने देख्छु। प्राविधिक रुपमा खेले विपक्षीलाई दुःख दिने सम्भावना रहन्छ।'

भारतको प्रदर्शनमा भने उनले खिन्नता व्यक्त गरे। 'भारत त्यति ठूलो देश भएर पनि नेपाललाई हराउन सकेन। उनीहरुसँग राम्रा खेलाडी नभएका होइनन्। तर पनि धेरै ठाँउमा सुधार गर्नुपर्ने देख्छु,' उनले भने, 'उनीहरुभन्दा प्राविधिक रुपमा नेपाल धेरै माथि छ। भारतको फुटबल मलाई चित्त बुझ्दो लागेन।' दक्षिण एसियाका अन्य राष्ट्रको प्रदर्शन पनि छिट्टै हेर्ने उनले योजना सुनाए। 'विश्वकप छनोटमा भूटान र माल्दिभ्सले चीनसँग खेल्दैछन्। चीनमा मेरा साथीहरु छन्। मैले त्यो भिडियो मगाएको छु।'

नेपाल यू– १९ उत्कृष्ट

प्रशिक्षक ओजेम्सले दस दिनअघि साफ यु–१९ च्याम्प्यिनसिप जितेको नेपाली टोलीको पनि प्रशंसा गरे। 'युवा टोली राम्रो छ। त्यसमा निकै प्रभावशाली खेलाडी छन्। राष्ट्रिय टोलीमा नरहेका खेलाडीले पनि साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरे,' नेपाल र भारतको युवा टोलीको फाइनल हरेका उनले भने, 'राष्ट्रिय टोली नै युवा छ। तर हामीले निरन्तर यु–१९का खेलाडीलाई पनि हेर्नुपर्छ। यसलाई निरन्तरता दिन सक्यौं भने नेपाललाई भविष्यमा फाइदा पुग्न सक्छ।'

Content/Photo: Nagarik News

च्‍यासल मैदानमा 'एस्ट्रो ट्रफ' रंगशाला - अन्नपूर्ण पोस्ट

chyasal football ground

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुरको च्यासलमा एस्ट्रो ट्रफ र फ्लड लाइट (कृत्रिम घाँस र प्रकाशसहितको) रंगशाला बनाउने भएको छ।

एन्फाले विश्व फुटबल महासंघ (फिफा) ले नेपाललाई उपलब्ध गराएको विशेष प्रोजेक्टबाट एस्ट्रो ट्रफ र फ्लड लाइट जडित रंगशाला बनाउने तयारी गरेको जानकारी एन्फाका अध्यक्ष गणेश थापाले दिए।

'फिफाले नेपाललाई मैदान निर्माणका लागि १० करोड रुपैयाँ विशेष सहयोग गरेकोले उक्त रकम च्यासलमा रंगशाला बनाउन खर्च गर्न लागिएको हो', थापाले भने। सरकारले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७२-७३ को बजेटमा समेत च्यासल फुटबल मैदानलाई वैकल्पिक रंगशाला बनाउन बजेट विनियोजन गरेको छ।

सरकारबाट प्राप्त रकमलाई १० देखि १२ हजार दर्शक क्षमताको प्यारापिट निर्माणमा उपयोग गरिने जानकारी थापाले दिए। 'फिफाको सहयोगले मैदानमा एस्ट्रो ट्रफ र फ्लड लाइट राखिनेछ। फुटबल रंगशालासहित च्यासलमा छुट्टै फुटसल कोर्टसमेत निमार्ण गरिनेछ', अध्यक्ष थापाले अन्नपूर्णसँग भने।

यसअघि फिफाले नेपाललाई गोल प्रोजेक्टअन्तर्गत भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग गर्दै आएको थियो। अहिले रंगशाला निर्माणका लागि फिफाले छुट्टै १० करोड रुपैयाँ सहयोग गरेको हो।

थापाका अनुसार च्यासल मैदानमा रंगशाला निर्माणका लागि केही दिनभित्रै माटोको परीक्षण गरिने भएको छ। माटोको परीक्षणपछि दसैं अगाडि नै रंगशाला निर्माणका लागि टेन्डर आह्वान गरिने पनि थापाले बताए। रंगशालाको निर्माण कार्य भने दसैंपछि सुरु गरिनेछ।

वैकल्पिक रंगशाला निर्माणका लागि दुईतीन वर्ष लाग्ने भएकाले निर्माण पूरा हुन्जेलसम्म ४० करोड रुपैयाँभन्दा बढी खर्च हुने बताइएको छ। सरकारको बजेट र फिफाको समेत सहयोग रहेकाले रंगशाला बन्ने निश्चित भएको थापाले बताए।

रंगशालाको निर्माणपछि घरेलु लिगलगायतका मझौला स्तरका अन्तर्राष्ट्रिय प्रतियोगितासमेत सञ्चालन गर्न सकिनेछ।एउटामात्र दशरथ रंगशालाको भारलाई समेत च्यासलमा बन्ने रंगशालाले कम गर्नेछ।

'नयाँ रंगशाला बनेपछि हिलो र धूलोमा खेल्नुपर्ने बाध्यता कम हुनेछ भने ध्वस्त बन्दै गएको दशरथ रंगशालाले पनि केही आराम पाउनेछ', थापाले भने, 'च्यासल मैदान एन्फाकै स्वामित्वमा रहेकाले विभिन्न प्रतियोगिताका लागि रंगशाला उपलब्ध गराउन धेरैसँग अनुनय विनय गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुनेछ।'

एन्फाले च्यासल मैदान रहेको जग्गा ललितपुर उपमहानगरपालिकासँग लिजमा लिएर लामो समयदेखि फुटबल गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि च्यासल मैदानमा 'बी' र 'सी' डिभिजन लिग, विभिन्न साना प्रतियोगिता, अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी टोलीको प्रशिक्षणलगायतका गतिविधि गरिँदै आएको थियो।

यसैगरी एन्फाले सातदोबाटोस्थित कृत्रिम मैदानमा पनि फ्लड लाइट राख्ने भएको छ। फ्लड लाइट जडानका लागि डेढ करोड रुपैयाँ लगानी गर्न लागिएको जानकारी थापाले दिए। एन्फा मैदानमा अहिले तीन हजार दर्शक क्षमताको प्यारापिट निर्माणकार्य भइरहेको छ।

एन्फा परिसरमा दुई वर्षअघि निर्माण गरिएको कृत्रिम मैदानमा अहिले जुनियर फुटबल टोलीको अभ्यास भइरहेको छ। एन्फाले यसै वर्ष बुटवल टेक्निकल सेन्टरमा पनि सरकार र विभिन्न निकायको सहयोगमा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने भएको छ।